कोरोनाको सङ्क्रमण एक सय ६२ देशमा फैलियो,नेपाल मात्रै हरियो सूचीमा

  Sampatti News Online

March 17, 2020

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस कोभिड–१९० को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ ।

यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ ।

कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डोमिटर ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएको र अरु सङ्क्रमित नभएको’ उल्लेख गरेको छ ।

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएको देश भएको हो ।

कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघि सङ्क्रमण भेटिएका व्यक्तिको ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।

प्रकाशित मिति:March 17, 2020