मंसिर २८ बाट अनिवार्य ई-पासपोर्ट

  Sampatti News

December 2, 2021

मंसिर २८ बाट अनिवार्य ई-पासपोर्ट

काठमाडौं-राहदानी विभागले ई-पासपोर्ट अनिवार्य गर्ने भएको छ ।

मंसिर २८ गतेबाट बाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द गर्दै बिभागले ई-पासपोर्ट अनिवार्य गर्न लागेको हो ।

मंसिर २८ गतेबाट विभागले मुख्य कार्यालयबाट अनिवार्य रुपमा ई-पासपोर्टका लागि अनलाइन आवेदन भर्नुपर्ने भएको छ ।

विभागले नारायणहिटीबाट वितरण गर्दै आएको एमआरपी टोकन बन्द गरिसकेको छ ।

२८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई-पासपोर्ट मात्रै वितरण गर्ने योजना विभागको छ ।

विभागका प्रवक्ता शरदराज आरनका अनुसार अनलाइन आवेदनबाट बुक गरेको समयमा सेवाग्राही बायोमेट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालयमा जानुपर्ने भएको छ ।

विभागले केही समय अगाडी देखी ई-पासपोर्ट वितरण थाले र एमआरपी पनि जारी गर्दै आएको थियो ।

एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गरिरहेको जनाएको छ ।

अब भने विभागको मुख्य कार्यालयबाट ई-पासपोर्ट मात्रै वितरण गर्ने योजना अघि सारेको हो ।

अहिलेसम्म विभागले ७१ लाख १० हजार एमआरपी वितरण गरिसकेको र करिब एक लाख एमआरपी बुक मौज्दातमा रहेको जनाएको छ ।

मौज्दातमा रहेका एक लाख एमआरपी बुक नै अब नेपालको अन्तिम एमआरपी कोटा रहेको बिभागले जनाएको छ ।

एमआरपी फेजआउट गर्दै ई-पासपोर्ट वितरणको तयारी

बिभागले देशभरीका प्रशासन बाट एमआरपी पासपोर्ट फेजआउट गर्दै ई-पासपोर्ट वितरणको तयारी गरेको छ ।

अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने बिभागले जनाएको छ ।

काठमाडौं उपत्याकाका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट पनि दैनिक रुपमा ई-पासपोर्ट वितरण थाल्न लागिएको हो ।

‘हामीले यो हप्ताभरिमा काठमाडौं उपत्याकाका जिल्लामा सेवा विस्तार गर्न तयारी सक्छौं,’ आरनले भने, ‘अर्को हप्ताबाट ई-पासपोर्ट जिल्लामा पनि पुग्छ ।’

ई-पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यलयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्रशासन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ ।

३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालयबाट बनाउँदा ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ । तर, ६६ पृष्ठको बनाउन चाहे १० हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

राहदानी विभागबाट दुई दिने सेवा अवधि बुक गरेर पासपोर्ट बनाउँदा ३४ पृष्ठको दस्तुर १२ हजार र ६६ पृष्ठको रहादानीको दस्तुर २० हजार तोकिएको छ ।

राहदानी हराएको, केरमेट भएको, पाना च्यातिएको वा अन्य कारणले राहदानी प्रयोग गर्न नसक्ने भएर नयाँ बनाउनुपर्दा तोकिएको शुल्कमा थप ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ ।

नियोगहरुमार्फत राहदानी बनाउँदा लाग्ने शुल्क भने क्षेत्र तथा क्षेत्रअनुसार फरक-फरक तोकिएको छ ।

विभागले साधारणसहित कुटनीतिक, सर्भिस, विशेष, अस्थायी र सिमेन्स राहदानी पनि वितरण गर्ने छ ।

करिब ७० लाख एमआरपी वितरण गरेपछि गत १ मंसिरदेखि सरकारले ई-पासपोर्ट वितरण थालेको थियो ।

मंसिर २८ बाट अनिवार्य ई-पासपोर्ट

प्रकाशित मिति:December 2, 2021