March 18, 2020
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन व्यवस्थातर्फ जोड्न खोजिएको बताउनुभएको छ । कृषि उत्पादन व्यवस्थातर्फ किसानलाई लैजानका लागि विभिन्न पाँच नीतिगत आधार प्रस्तुत गर्नुहुँदै मन्त्री भुसालले त्यस्ता आधारको प्रस्थानविन्दु र गन्तव्य किसान नै रहने उल्लेख गर्नुभयो । नीतिगत आधारहरुको कार्यान्वयन र अभ्यासको नेतृत्व संघ, प्रदेश र स्थानीय सरकारहरुको सहअस्तित्व, सहकार्य र समन्वबाट सम्पन्न गर्न सकिने बताउनुहुँदै मन्त्री भुसालले भन्नुभएको छ, ‘कृषिमा रहेको हरेक व्यक्ति न्यूनतम बचतको भागिदार छ भन्ने कुरा ग्यारेण्टी हुनेछ, ‘संरक्षित कृषि, सुनिश्चित बचत’ को आकाङ्क्षा पूरा गरिनेछ ।’
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा टेवा, सस्तो र सुलभ ऋण, बाली र पशुपन्छी बीमा तथा न्यूनतम बचतको ग्यारेण्टी जस्ता किसानको न्यूनतम बचतका लागि कृषि उत्पादन व्यवस्थातर्फ जोड्ने आधारहरु प्रस्तुत गनुभएको हो ।
सानो भूस्वामित्वको बहुलताले गर्दा नेपालको कृषि उत्पादनको नयाँ व्यवस्थामा कृषि सहकारी वा सहकारीताको महत्वपूर्ण भूमिका हुने मन्त्री भुसालको भनाई छ । सबैभन्दा ठूलो नीजी क्षेत्र भनेको किसान नै भएको उल्लेख गर्नुहुँदै भुसालले सहकारी र नीजी क्षेत्रको भूमिका र विकासको लागि उपयुक्त व्यवस्था गर्ने जिम्मा सरकारले लिने पनि बताउनुभयो ।
नीतिगत आधारको अभ्यासका क्रममा आफ्ना सामु अनगिन्ती प्रश्न आउने र ती सबैको जवाफ कामबाट दिनुपर्ने बताउँदै उहाँले कामका दौरानमा अनेक सीमा तथा कमजोरी प्रकट हुनसक्ने र सबैलाई सुधार्दै अघि बढिने प्रष्ट पार्नुभयो ।
बलियो सामाजिक–आर्थिक जीवनमा नटेकेको लोकतन्त्र सधैं खतरामा पर्ने हुनाले नेपालको सामाजिक–आर्र्थिक जीवनमा कृषि क्षेत्रको महत्वलाई कूल गार्हस्थ उत्पादनमा देखिने योगदान र त्यसमा संलग्न जनसङ्ख्याले बताउने उहाँको भनाई छ ।
नेपालको राजनीतिक तथा संवैधानिक गणतन्त्रलाई धान्न सक्ने कृषि अर्थतन्त्रको विकास गर्न खोज्दा केवल उत्पादन र उत्पादकत्व बढाउने प्राविधिक मामिलामात्र नभई सामाजिक तथा राजनीतिक विषयलाई पनि उक्तिकै ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।
कृषिको विकास गर्ने कुरा अत्यन्तै दुख र गाह्रो हुनुका साथै बचत नहुने वा असाध्यै कम बचत हुने क्षेत्र भएकाले यसको यान्त्रिकिकरणमा जोड दिइने उल्लेख गर्नुहुँदै भुसालले भन्नुभयो, ‘बचत वा नाफाको झण्डाले अगाडिबाट डो¥याएन भने हाम्रा उदात्त भावनापूर्ण अपीलका प्रभावले यान्त्रिकीकरण आफै नहुँदो रहेछ । आर्थिक उत्पादनको कटु इतिहासले त्यसै भन्छ । त्यसैले, कृषिमा क्रान्तिकारी परिवर्तन गर्ने हो भने कृषि कर्मबाट न्यूनतम बचत हुन्छ भन्ने प्रत्याभूति किसानलाई दिनै पर्छ । हामीले भन्दै आएका कृषिमा अनुसन्धान, व्यावसायीकरण, बजारीकरण, रोगमुक्त पशुपालन, अर्गानिक कृषि, खाद्य तथा पोषण सुरक्षा र खाद्य स्वच्छतालगायत सबै अवधारणालाई बचतले अगाडिबाट तान्दै लैजानेछ र भविष्यमा भूमि व्यवस्थालाई समेत प्रभावित पार्नेछ ।’
उहाँले अगाडी भन्नुभएको छ, ‘कृषि उत्पादन र बचत नै त्यस्तो इन्जिन हुनेछ जसले औद्योगीकरण÷उद्यमिकरणको वास्तविक आधार तयार गर्नेछ । हामीले युवा बेरोजगारी र वैदेशिक श्रम बजारमा हाम्रा नौजवानहरुको दारुण कथा सुने–सुनाएका छौँ । यो नै त्यस्तो सन्देश हो, जसले सूदुर मरुभूमि, खतरनाक र अपमानपूर्ण कार्यक्षेत्रमा रगत–पसिना बगाइरहेका हाम्रा नौजवान छोराछोरीलाई भविष्यप्रति आश्वस्त पार्नेछ । यो काम सजिलो अवश्य छैन तर आजको राज्य (सरकार) ले बोक्नै पर्ने कार्यभार हो ।’
पत्रकारहरुको के तपाइँले गरेका घोषणा व्यवहारमा कार्यान्वयन गर्न सम्भव छन् त ? भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले भने, मन्त्रालयले सार्वजनिक गरेका लक्ष्यहरुले आफ्नै परिक्षा लिने र आगामी कामका शिलशिलामा उठ्ने प्रश्नहरुको सार्थक उत्तर दिनु पनि आफ्नो दायित्व रहने भएकाले योजनाहरुलाई कार्यान्वयन गर्न हरसम्भव प्रयास गरिने बताउनुभयो ।
प्रकाशित मिति:March 18, 2020
November 23, 2024