December 14, 2021
दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा कोइराला
काठमाडौँ-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताउनुभएको छ ।
सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि आज पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा विजयी हुने दाबी गर्नुभयो ।
उहाँले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफूले चुनावी नतिजा स्वीकार गर्ने बताउनुभयो ।
कांग्रेसको १४औँ महाधिवेशनमा सोमबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
सभापतिका उम्मेदवारको बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी दुई हजार २५८ मत प्राप्तगर्नुभएको थियो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो ।
सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
मतदानमा कूल ७६ मत बदर भएको थियो ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनःमतदान गरिनेछ ।
पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
दोस्रो चरणको निर्वाचनको मतदान दिउँसो ३ः३० बजेबाट सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा कोइराला
प्रकाशित मिति:December 14, 2021
November 24, 2024