एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः ओली

सम्पत्ती न्यूज
१७ असार २०८३, बुधबार
image

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट पार्टीलाई धक्का लागेको भए पनि एमाले समाप्त नभएको बताउनुभएको छ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले एमाले एकताबद्ध, सुदृढ र थप सशक्त बन्दै जाने विश्वास व्यक्त गर्नुभयो।
फाँसीवादी प्रवृत्तिका विरुद्ध मिल्न सकिने सबै शक्ति मिलेर संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको र ती शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क विशेष संगठन कमिटीसँगको सुझाव संकलन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘यतिबेला पार्टी एकीकरण वा एकताको कुरा कहाँबाट आयो?’ भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) देशव्यापी रूपमा फैलिएको, सुदृढ संगठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नुपर्ने, तर एकीकरण गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे। उनले भने, ‘एमालेको नीति, विचार र उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिलाई हामी स्वागत गर्न सक्छौँ, तर पार्टीगत एकताको चरणमा अहिले हामी छैनौँ।’

ओलीले सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक काम गरिएको स्मरण गर्दै एमाले कुनै नराम्रो काम गरेर अलोकप्रिय नभएको, बरु पार्टीविरुद्ध भएको हमला र छरिएको भ्रमबाट जनता अलमलिएको बताए। उनले पार्टीले गम्भीर धक्का खाएको भए पनि उठ्न नसक्ने अवस्थामा नपुगेको जिकिर गरे। उनले भने, ‘हामी अलिकति घाइते भएका हौँ, मरेका छैनौँ, हामी फेरि उठ्न सक्छौँ।’

‘हामीले केही बिगारेका छैनौँ, त्याग र तपस्या गरेका छौँ, लोभपाप गरेका छैनौँ, त्यसैले हीनताबोध गर्नुपर्दैन, भविष्य हाम्रै हो,’ उनले उच्च मनोबलका साथ जनतामा परेको भ्रम चिर्दै अगाडि बढ्न विशेष संगठन कमिटीमा आबद्ध नेता-कार्यकर्तालाई आग्रह गरे।

तत्कालीन प्रधानमन्त्री ओलीले थपे, ‘गत वर्ष २३/२४ भदौको घटना हाम्रो कमजोरी होइन, षड्यन्त्रकारीको अपराध हो। हामी हमलामा पर्‍यौँ र सुरक्षा संयन्त्र परिचालित हुन सकेन।’ उनले सो घटनामा जोडेर मानव अधिकार आयोगजस्ता निष्पक्ष न्यायिक संस्थाहरूबाट समेत आफू अत्याचारमा परेको गुनासो गरे।

‘देशको राजनीतिक र सामाजिक परिवर्तनमा नेकपा (एमाले) को भूमिका असाधारण छ, अब पनि हामी देशलाई सही बाटोमा अगाडि बढाउनेछौँ,’ उनले भने। सुझाव संकलन कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति थियो।