आज बुधबार यो वर्षकै बढी चिसो महसुस

  Sampatti News

December 15, 2021

आज बुधबार यो वर्षकै बढी चिसो महसुस

काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ४.२ डिग्री सेल्सियस मापन गरिएको हो।

काठमाडौं उपत्यकामा आज बुधबार यो वर्षकै बढी चिसो महसुस गरिएको छ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो।

चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरू हुन्छ।

केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री र अधिकतम तापक्रम २० दशमलव ० डिग्री सेल्सियस रहनेछ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव डिग्री र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २६.७ डिग्री सेल्सियस रहेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश ,गण्डकी प्रदेशकाउच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

प्रकाशित मिति:December 15, 2021