निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय देखिए : ओली

Nepal Cover
१२ चैत्र २०८२, बिहीबार
image

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन् ।

ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामलाई ‘अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय’ भएको बताएका छन् । 

बिहीबार नवनिर्वाचित सांसदहरूको शपथग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचन प्रक्रिया र परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन, तर यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’

ओलीले निर्वाचनमा एमाले र पार्टीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ गन्तव्यविरुद्ध व्यापक कुप्रचार भएको आरोप लगाए । ‘हाम्रा विरोधीहरूले घृणाको राजनीति गरे,’उनले भने, ‘घृणाको राजनीति गर्नेलाई विभिन्न तहबाट सहयोग मिल्यो ।’ उनले एमाले सांसदहरूलाई सत्य र न्यायको पक्षमा अडिग रहन निर्देशन दिए ।

महाभारतको उदाहरण दिँदै ओलीले भने, ‘कौरवको सेना ठूलो र असाधारण थियो, पाण्डवको सेना थोरै थियो । तर अन्ततः नतिजा सत्यको पक्षमा आयो । हामी पनि देश, जनता, शान्ति, सुशासन र विकासका लागि काम गर्दैछौं । सत्यको पक्षमा रहनुहोस् ।’