सैनिक सहुलियतपूर्ण आवासकर्जाको सुभारम्भ

Nepal Cover
१० पुष २०७८, शनिबार
image

सैनिक सहुलियतपूर्ण आवासकर्जाको सुभारम्भ

काठमाडौं-नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवासकर्जाको सुभारम्भ गरेका छन् ।

बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चेक हस्तान्तरण गरि उनले ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवासकर्जा–२०७८’ को सुभारम्भ गरेका हुन् ।

नेपाली सेनाले सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान वा श्रीमतिको नाममा नेपालभित्र आफ्नो घर नम्बर नभएका बहालवाला सकलदर्जाहरुलाई अत्याधिक सहुलियतपूर्ण ब्याजदर जम्मा ३.३२ प्रतिशतमा मुलुकभर भवन निर्माण गर्न वा घर खरीद गर्न २५ लाखसम्मको आवास कर्जा उपलब्ध गराउने उद्देश्यका साथ उक्त आवास कर्जा सुविधा कार्यान्वयनमा ल्याएको हो ।

हालसम्म २० जनाले उक्त सुविधाको लागि आवेदन दिइसकेको र त्यसमध्ये ७ जनाको प्रकृया पूरा भइ बैंकमा सिफारिस भइसकेको छ भने अन्य आवेदनहरु प्राप्त हुने क्रममा रहेका छन् ।

प्रधानसेनापति शर्माले पदवहाली पश्चात सकलदर्जालाई सम्बोधन गर्दै उक्त आवासकर्जा कार्यक्रम लागु गर्ने प्रतिबद्धता गरेका थिए ।

सो बमोजिम मिति २०७८ कार्तिक २२ गते राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान तथा नेपाली सेनाबीच ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ मा सम्झौता भएको थियो ।

आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सकलदर्जाहरुलाई दोश्रो पक्षले धितो मूल्यांकनको आधारमा घर खरीद गर्न एकमुष्ठ र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोश्रो तथा अन्तिम किस्ता ३०-३० प्रतिशतका दरले निर्माण प्रगतिको आधारमा प्रवाह गर्नेछ ।