सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा एस

  Sampatti News

January 4, 2022

सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा एस

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ ।

उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो ।

आइतबार धुलिखेल–१२ वडा कमिटी गठन गर्‍यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन र पनौती नगरमा युवासङ्घ गठन गरेको छ ।

समाजवादीले युवासङ्घ, किसान र महिला सङ्गठनलाई वडास्तरमा लगिरहेको हो ।

काभ्रेपलाञ्चोकमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दीपक गौतमले बताउनुभयो ।

उहाँले छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडा रहेको काभ्रेपलाञ्चोकको हालसम्म ८७ वडामा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।

गौतमका अनुसार यही पुस मसान्तसम्म सबै वडामा कमिटी गठन सक्ने अभियान रहेको छ ।

उहाँले हालसम्म महिलाको पालिकास्तरमा सात तथा ६१ वडामा सङ्गठन विस्तार भइसकेको बताउनुभयो ।

उहाँका अनुसार युवाको नौ स्थानीय तहमा र ७२ वडामा, किसानको २५ वडामा तथा विद्यार्थीको १७ विद्यालय÷क्याम्पसमा कमिटी गठन भएको छ ।

१७ जनवर्गीय सङ्गठनको कमिटी गठन

साथै १७ जनवर्गीय सङ्गठनको पालिकास्तरमा कमिटी गठन भइसकेको जनाइएको छ ।

पार्टीले विशेषगरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ ।

केही वडा कमिटी गठन गर्न पार्टीका सङ्घीय तथा प्रदेशमन्त्रीसमेतलाई उपस्थित गराइएको छ ।

गत महिना स्थानीय तहमा पार्टीको कमिटी निर्माणपछि काभ्रेपलाञ्चोकमा सङ्गठन विस्तारको अभियानलाई थप तीव्रता पारिएको जनाइएको छ ।

“वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्ररूपमा भइरहेको छ, आउँदो पुस मसान्तसम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ”, जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले भन्नुभयो ।

मण्डनदेउपुर नगरमा भने सबै वडामा कमिटी निर्माण भइसकेको छ ।

वाइवा उक्त नगरको प्रमुखसमेत रहनुभएको छ । उहाँले क्रमैसँग जनवर्गीय सङ्गठनसमेत गठन गर्दै गएको बताउनुभयो ।

नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिम साता काभ्रेपलाञ्चोकमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गर्नुभएको थियो ।

तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरूपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताउनुभयो ।

एकीकृत समाजवादीमा काभ्रेपलाञ्चोबाट नेतृत्व गर्नुभएका एमालेबाट निर्वाचित पूर्व सांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहनुभएको छ ।

देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुनुहुन्छ भने कृष्णप्रसाद सापकोटा पोलिटब्यूरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहनुभएको छ ।

जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका हुनुहुन्छ ।

सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा एस

प्रकाशित मिति:January 4, 2022