न्यून चापीय प्रणालीको प्रवेश बर्षा र हिमपातको सम्भावना

  Sampatti News

January 4, 2022

न्यून चापीय प्रणालीको प्रवेश बर्षा र हिमपातको सम्भावना

काठमाडौँ-मंगलवार राती देखि पश्चिमी न्यून चापीय मौसम प्रणाली नेपालमा प्रबेश गर्न लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त पश्चिमी न्यून चापीय मौसम प्रणालीको प्रभावले नेपालमा बुधबार देखि शनिबार सम्म सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

शनिबार सम्म यो प्रणाली देशभर फैलिएर बिशेष गरी सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले हिउँद यामको विशेष मौसम अपडेट मार्फत जानकारी गराएको छ ।

महाशाखाले बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

सुदुर(पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार आइतबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने छ।

महाशाखाले यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

न्यून चापीय प्रणालीको प्रवेश बर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति:January 4, 2022