एक सरकारी कर्मचारीको ३२ स्थानमा घरजग्गा १९ बैंकमा रकम

  Sampatti News

January 6, 2022

एक सरकारी कर्मचारीको ३२ स्थानमा घरजग्गा १९ बैंकमा रकम

काठमाडौँ-सरकारी सेवामा रहेका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ ।

सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका कर्मचारीले उक्त सम्पती जोडेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रुपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

विष्ट दम्पतीका नाममा काठमाडौँ, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्की लगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ ।

कतिपय स्थानमा विष्टका नाममा, कतिपय स्थानमा उनकी पत्नीका नाममा, कतिपय स्थानमा दुवै जनाको नाममा घरजग्गा रहेको अख्तियारको आरोपपत्रमा लेखिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ बोनीले बताए ।

१९ वटा बैंकमा विष्ट दम्पतीका नाममा खाता रहेको पनि आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले विष्टले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पत्नी रुबी जिसी विष्टको नाममा पनि राखेकाले जफत गर्न माग गरेको छ ।

आरोपपत्रमा सरकारी पदमा रहेर अकुत सम्पत्ति कमाएको भन्दै बिष्ट र उनकी पत्नी रुबीलाई ६ करोड ८७ लाख ५७ हजार रूपैयाँ कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय माग गरिएको छ।

‘कुनै राष्ट्रसेवकले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भए त्यसरी आर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्तिसमेत जफत गरिनेछ’ ऐनमा छ।

एक सरकारी कर्मचारीको ३२ स्थानमा घरजग्गा १९ बैंकमा रकम

प्रकाशित मिति:January 6, 2022