भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ

  Sampatti News

January 24, 2022

भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ

भक्तपुर-भक्तपुरमा जिल्लामा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ ।

पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए ।

त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ ।

कूल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन् ।

जिल्लामा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय सङ्क्रमित छन् ।

तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन् । मध्यपुरथिमिमा आइतबार मात्रै २०२ सङ्क्रमित थपिएका थिए ।

त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन् ।

त्यस्तै एचडियूमा चार , आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६ छन् ।

यसैगरी जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ ।

यही माघ ८ गते एक सङ्क्रमितको मृत्युसँगै जिल्लामा कोरोना सङ्क्रमणका मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको हो ।

भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ

प्रकाशित मिति:January 24, 2022