चितवनको राप्तीमा बर्डफ्लू देखियो

Nepal Cover
२८ माघ २०७८, शुक्रबार
image

चितवनको राप्तीमा बर्डफ्लू देखियो

भरतपुर-यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ ।

राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।

उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले बताउनुभयो ।

फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उहाँको भनाइ छ ।

शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

विश्व पशु स्वास्थ्य सङ्गठनका अनुसार ‘नोटिफाइअबल एभियन इन्फ्लुएन्जा’ भाइरसको ‘सब–टाइप’ बाट हुने रोग वा संक्रमण नै बर्ड फ्लू हो ।

बर्ड फ्लु अर्थात एच ५ एन १ अत्याधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो ।

यसले चराचुरुङ्गीको श्वासप्रश्वासमा असर गर्छ । एक मानिसबाट अर्को मानिसमा सजिलै सर्दैन ।

तर, मानिसमा संक्रमण सरे मृत्युदर उच्च हुने चिकित्सकहरु बताउँछन् ।

बर्ड फ्लूका लक्षणहरुः

–घाँटी दुख्नु
–खोकी लाग्नु
–मांशपेसीहरु दुख्नु
–उच्च ज्वरो आउनु
–सास फेर्न गाह्रो हुनु
–पेट दुख्नु, छाती दुख्नु

बर्ड फ्लुबाट बच्ने उपायः

–७० डिग्री सेल्सियसमा पंछीको मासु पकाउँदा भाइरस मर्छ ।
–मासु किनेर ल्याएपछी पन्जा एप्रोंन र माक्स लगाएर मात्र छुनु पर्छ ।
–बर्ड फ्लू संक्रमणको शंका लागेमा कुखुराको अन्डा खानु हुँदैन ।
–पंक्षी मरेको देख्नेवितिकै सचेत हुनुपर्छ ।
–मृत पक्षी र तिनीहरुको सुलीबाट टाढा रहने ।

चितवनको राप्तीमा बर्डफ्लू देखियो