February 11, 2022
महेन्द्रनगर-नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन् ।
सुदूरपश्चिमको भ्रमणमा रहेका उनले आज सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले तोकेको मापदण्डअनुसार होल्डिङ सेन्टर निर्माण, गुणस्तरमा जोड र समयमै सम्पन्न गर्न निमार्णमा संलग्न पक्षलाई निर्देशनसमेत दिए ।
“निर्माण सम्झौता भएअनुसार सामग्रीको प्रयोग र सोही अनुसारको लगानी हुनुपर्यो,” उनले भने, “निर्माण कमसल लगायतका दोष पछि गएर सेनालाई नआओस् ।”
प्रधानसेनापति शर्मासँगै निरीक्षणमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी र जिल्ला कोभिड व्यवस्थापनको टोलीसमेत सहभागी थियो ।
रु २९ करोडको लागतमा एक हजार शय्याको उक्त होल्डिङ सेन्टर निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । निर्माणमा नेपाली सेनाको प्राविधिक टोलीसमेत खटिएको छ ।
चालु आर्थिक वर्षमा नेपाली सेनाले पश्चिमी नाकासहित मुलुकभर आठ स्थानमा होल्डिङ सेन्टर बनाउन थालेको छ ।
होल्डिङ सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सन प्रालिका प्रतिनिधि लक्ष्मण सापकोटाले ९५ प्रतिशत काम सकिएको सो अवसरमा जानकारी दिए ।
उनले भने, “फागुनसम्म निर्माण सकेर हस्तान्तरणको तयारीमा छौँ ।”
प्रकाशित मिति:February 11, 2022
November 23, 2024