समाचारमा अतिरञ्जना नगर्न आग्रह

Nepal Cover
२९ माघ २०७८, शनिबार
image

समाचारमा अतिरञ्जना नगर्न आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सञ्चारमाध्यमका समाचारमा अतिरञ्जना भएमा समाजमा भ्रम सिर्जना हुने बताउनुभएको छ ।

युनेस्को नेपालका निम्ति नेपाल राष्ट्रिय आयोगको सहयोगमा तुलसादेवी हरिहर फाउण्डेशनले क्रियाशील पत्रकारका लागि आयोजना गरेको आचारसंहितासम्बन्धी भर्चुअल तालीममा सचिव अर्यालले जनतालाई सही र छिटोछरितो सूचना प्रवाह गर्नसकेमा पत्रकारिता जगत् व्यावसायिक, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन योगदान मिल्ने बताउनुभयो ।

उहाँले पत्रकारिता क्षेत्रमा कुनै समस्या भएमा र सरकारले गर्नुपर्ने सहजीकरणमा मन्त्रालयले पहल गर्ने वाचा गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले ‘नेपाली रेडियोमा आचारसंहिता पालना र प्रयोग’बारे प्रस्तुत गर्दै पत्रकार आचारसंहिता पत्रकार आफैँले आफ्ना लागि तर्जुमा गरेर लागू गर्ने विषय भएकाले पत्रकार आफू त्यसबारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले ‘टेलिभिजन पत्रकारितामा आचारसंहिता पालना र प्रयोग’, ‘राससका प्रधानसम्पादक एकराज पाठकले ‘नेपाली मिडियामा आचारसंहिता पालना र प्रयोग एवं बिहंगम दृष्टिकोण’, प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले ‘प्रेस काउन्सिलको परिचय, पत्रकार आचारसंहितामा कारबाहीको अवस्था र पालनाका उपाय’ तथा पत्रकार प्रकाश सिलवालले ‘समाचार सङ्कलन र आचारसंहिता’बारे आ आफ्नो प्रस्तुति गर्नुभएको थियो ।

फाउण्डेसनले शुक्रबार र शनिबार लुम्बिनी प्रदेशका पत्रकारका लागि तालिम आयोजना गरेको हो भने यसअघि अन्य प्रदेशमा यस्तै प्रकारको कार्यक्रम भौतिक र भर्चुअलरुपमा सम्पन्न गरेको कार्यक्रम संयोजक डिल्लीरमण सुवेदीले जानकारी दिनुभयो ।

समाचारमा अतिरञ्जना नगर्न आग्रह