February 16, 2022
चितवनमा सात महिनामा ३० जना बेपत्ता
जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन् ।
प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० जना परिवारको सम्पर्कमा आएका छन् ।
सम्पर्कमा नआउनेमा १३ महिला, १२ पुरुष, एक बालक, तीन बालिका र एक ज्येष्ठ नागरिक छन् ।
गत आर्थिक वर्षमा १३ महिला, २७ पुरुष, दुई बालिका र तीन ज्येष्ठ नागरिक बेपत्ता थिए ।
फेला नपर्नेहरू साथीको घर जान्छु भनेर, स्कुलबाट घर नफर्किएर, बजार गएर आउँछु भनेर घरबाट निस्किएका बढी मात्रामा रहेको उहाँले जानकारी दिनुभयो ।
चालु आवको माघसम्ममा १०६ महिला, ८३ पुरुष, १६ बालक, ४८ बालिका र १७ ज्येष्ठ नागरिक हराएका थिए ।
उनीहरुमध्ये ९३ महिला, ७१ पुरुष, १५ बालक, ४५ बालिका र १६ ज्येष्ठ नागरिक परिवारको सम्पर्कमा आएका छन् ।
परिवारको सम्पर्कमा नआएकाको खोजी भइरहेको नरालले बताउनुभयो ।
कार्यालयको महिला सेलमा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेका छन् ।
चालु आवको सात महिनामा २६१ घरेलु हिंसाका घटना भएका छन् ।
खान लाउन नदिएको ६८, कुटपिटका १२६ र गाली बेइज्जतीका ६७ वटा छन् ।
नरालका अनुसार गत आवमा घरेलु हिंसाका घटना १५४ दर्ता भएका थिए ।
आव २०७६/७७ मा ८४ वटा घरेलु हिंसाका निवेदन दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
हरेक वर्ष जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
कार्यालयको तथ्याङ्कानुसार यस आवमा परेका निवेदनमध्ये १८१ वटा मिलापत्र भएको छ भने ५४ वटा निवेदन अदालतमा दर्ता भएको र २४ वटा निवेदन छलफलका क्रममा छन् ।
चितवनमा सात महिनामा ३० जना बेपत्ता
प्रकाशित मिति:February 16, 2022