पुर्जा ‘सद्भावना दूत’ नियुक्त

Nepal Cover
१३ फाल्गुन २०७८, शुक्रबार
image

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडविल एम्बासडर फर नेपाल्ज टुरिजम) बन्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नुभएको हो ।

मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई बिहीबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ ।

मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहणयात्राको सम्मान गर्दै थप सफलताको शुभकामना दिनुभयो ।

उहाँले आरोही पुर्जालाई पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु आफ्नो कार्यकालको स्मरणीय काममध्येकै एक रहेको उल्लेख गर्नुभयो ।

आरोही पुर्जामार्फत नेपालको पर्यटन क्षेत्रको व्यापक प्रचार हुने र कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय फेरि माथि उठ्ने विश्वास रहेको मन्त्री आलेले बताउनुभयो ।

यस्तै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार महसुस गरेको बताउँदै आगामी दिनमा नेपाललाई विश्वसामु चिनाउन आफू सदैव लागिपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई सद्भावना दूत नियुक्त गरेर नेपाल सरकारले थप जिम्मेवार बनाएको छ, म नेपाल देश विश्वसामु चिनाउन हरपल लाग्ने छु ।”

पर्वतारोही पुर्जाले सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएको छ । आरोही पूर्जाले निर्माण गरेको ‘१४ पिक्स :नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री संसारभर चर्चित रहेको छ ।