शङ्कास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

Nepal Cover
१६ फाल्गुन २०७८, सोमबार
image

काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ ।

आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो ।

शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९।३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताउनुभयो ।

अनुसन्धानको क्रममा शङ्कास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ ।

बिहान राजमार्गमा शङ्कास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।