बुढानीलकण्ठमा एकजनाको हत्या:संलग्न २ पक्राउ

  Sampatti News

March 3, 2022

काठमाडौं-काठमाडौंको बुढानीलकण्ठ ५, थाकथोकमा एक जनाको हत्या भएको छ ।

महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार बुढानीलकण्ठ–४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको हो।

उनका अनुसार हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् ।

प्रहरीले दुई दिनअघि थाकथोकमा राउतको शंकास्पद अवस्थामा शव भेटेको थियो । तर सनाखत हुन सकेको थिएन ।

‘शंकास्पद लागेपछि अनुसन्धानमा सहयोग गर्ने प्रहरी कुकुरसहितको टोली लिएर अनुसन्धान थालेका थियौं’ एसपी मैनालीले भने, ‘पछि घटनामा दुई जनाको संलग्नता देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । उनीहरुले बयानका क्रममा राउतलाई बाँसले टाउकोमा हानेको भनेका छन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार याकुभ र करणलाई मृतक राउतले ३५ हजार रुपैयाँ दिनुपर्ने थियो ।

त्यो दिन नमानेपछि झगडा परेको र त्यही क्रममा ज्यान रहेको हुनसक्ने देखिएको अधिकृतहरु बताउँछन् ।

प्रकाशित मिति:March 3, 2022