April 24, 2022
काठमाडौं – कैलालीको कमैया बस्तीमा आगलागी भएको छ ।
आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो ।
गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार पूरै बस्तीमा आगलागी भएको छ । आगलागीबाट ठूलो क्षति भएको जोशीले बताए ।
धनगढी उपमहानगरपालिका र गौरीगंगाको आगलागी नियन्त्रणका लागि दमकल बस्तीमा पुगेका छन् । यसका साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, नेपाल प्रहरी र स्थानीयले पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाको दमकलसमेत मगाइएको छ ।
आगलागीको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा। रणबहादुर रावल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापालगायत सुरक्षा टोली घटनास्थलतर्फ गएको छ ।
प्रकाशित मिति:April 24, 2022
November 24, 2024