April 25, 2022
महोत्तरी-नेपाली कांग्रेसको तर्फबाट महोत्तरीको बर्दिवास नगरपालिका प्रमुखको लागि दुईजना नेताले टिकट पाएको दाबी गरेका छन् ।
लामो रस्साकसीपछि बर्दिबासमा नगरप्रमुखका दावेदार मानिएका प्रल्हाद क्षेत्रीले टिकट पाएको भन्ने पार्टीको आधिकारिक धारणा बाहिर आउन नपाउँदै अर्का नेता चिरञ्जीवी हमालले पनि नेपाली कांग्रेसबाट टिकट पाएको दाबी गरेका छन् ।
आफूलाई पार्टीले टिकट दिएको भन्दै दुवै नेता मनोनय दर्ता गर्न निर्वाचन कार्यालय पुगेपछि नेता तथा कार्यकर्ता अचम्ममा परेका छन् ।
सोमबार बिहान मात्र नेता क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको टिकट लिएर आएको बताएका छन् ।
तर कसको टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ हुने निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ ।
यस विषयमा आयोगसँग परामर्श लिने कार्य भइरहेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।
दुवै नेताको उम्मेदवारी दर्ता नभएको र आधिकारिक टिकट पुष्टि भएपछि मात्रै एक नेताको उम्मेदवारी मात्रै दर्ता हुने सापकोटाले बताए ।
नेताहरु भने आ– आफ्नो टिकट आधिकारिक भएको दाबी गरिरहेका छन् ।
यस्तै आंकाक्षी धेरै भएपछि उम्मेदवार टुङ्ग्याउन नसकेको माओवादी केन्द्रको तर्फबाट बर्दिवास नगरपालिकाको नगरप्रमुखमा राजु खड्काको उम्मेदवारी पर्ने भएको बताइएको छ ।
खड्का माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् । यद्यपि उनले उम्मेदवारी दर्ता गरेका छैनन् ।
अन्य पदाधिकारीको भने टुंगो लाग्ने क्रममा रहेकाले सबै पदमा उम्मेदवार टुंगो लागेपछि मात्रै मनोनयन दर्ता गर्ने माओवादी केन्द्रले जनाएको छ ।
प्रकाशित मिति:April 25, 2022
November 23, 2024