कन्सल्टेन्सीहरुद्वारा वैदेशिक रोजगारीका नाममा ठगी : सचेत रहन आग्रह

  Sampatti News

April 26, 2022

काठमाडौं- वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ ।
शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट मोटो रकम असुल गरी ठगी गरिरहेको घटना प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागमा यस प्रकारका उजुरीहरुको संख्या दिनह बढिरहेको छ । यस्तो कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परि उनीहरुमाथि अनुसन्धान भैरहेको विभागले जनाएको छ ।

विज्ञप्तिमा विभागले भनेको छ, ‘उजुरीको अनुसन्धान गर्दै जादा त्यस्ता कन्सल्टेन्सीहरुले रकमको कारोबार नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरुका खातामा रकम जम्मा गर्न लगाउने, गैरकानुनी असूलिको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने कर्मचारीहरु पक्राउ पर्ने गरेका छन् ।’

यस्ता गैरकानूनी क्रियाकलाप र गैर कानूनी कारोबारमा संलग्न नरहनको लागि त्यस्ता संस्थामा कार्यरत वा काम गर्न चाहने कर्मचारीलाई सचेत रहन समेत विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति:April 26, 2022