प्रमुख पदमा महिलाको उम्मेदवारी

  Sampatti News

April 26, 2022

मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक/एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ ।

हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा समाजवादीकी मीना लामाको उम्मेदवारी दर्ता भएको छ भने नेकपा एमाले बकैया गाउँपालिकामा सरला बोलखेको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी बकैया गाउँपालिकाबाट नै नेकपा माओवादी केन्द्रले लक्ष्मी माझीको उम्मेदवारी दर्ता गराएसँगै मकवानपुरमा तीनजना महिलाहरु प्रमुख पदका उम्मेदवार बन्नुभएको हो ।

बकैया गाउँपालिककी अध्यक्ष उम्मेदवार बन्नुभएकी माझीबाहेक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएका दुईजना नै सोही पालिकामा स्थानीय निर्वाचन २०७४ मा उपप्रमुख पद जित्नुभएको थियो ।

यसैगरी नेकपा एमालेले मनहरि गाउँपालिकामा २५ वर्षीया सुजिता थिङको उम्मेदवारी दर्ता गराएको छ ।

उक्त उम्मेदवारी दर्तासँगै थिङ कान्छी महिला उम्मेदवारका रुपमा चर्चामा आउनुभएको छ ।

मकवानपुरको तीनवटा पालिकामा सहमति नजुटेपछि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा दलहरुले आ आफ्नो उम्मेदवार दिएका छन् ।

प्रकाशित मिति:April 26, 2022