हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

Nepal Cover
१४ बैशाख २०७९, बुधबार
image

काठमाडौं – सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो ।

२०४७ सालमै अदालतमा सातामा २ दिने बिदाको चलन केही समय अभ्यास गरिए पनि २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै २ दिन बिदा दिन सिफारिस गरेको थियो । आयोगकै सिफारिसअनुसार २०५६ सालमा काठमाडौँ उपत्यकाबाट सातामा २ दिन बिदा दिने चलन पुनः सुरु गरिए पनि त्यो पनि असफल भयो ।

यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिनुभयो । उहाँले बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।