होस्टल एसोसिएसनले क्वारेन्टाइनका लागि एक हजार बेड उपलब्ध गराउने

  Sampatti News

April 13, 2020

काठमाडौँ । नेपालका होस्टल व्यवसायीहरूले क्वारेन्टाइनका लागि बेड उपलब्ध गराउने भएको छ । होस्टल एसोसिएसनल कोरोना नियन्त्रणको लागि सरकारलाई क्वारेन्टाइन स्थल निर्माणमा सहयोग गर्ने भएकाहुन् ।
नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हान सहितको वक्तव्य मार्फत यस्तो घोषणा गरीएको छ ।
पाठकले जारी गरेको वक्तव्यमा लेखिएको छ, “हामीले राज्यले आवश्यक ठानेको खण्डमा कोभिड–१९ का सम्भावित सङ्क्रमितको लागि आवश्यक पर्ने क्वारेन्टाइन निर्माणको लागि आवश्यक पर्ने बेड तथा भवनहरू समेत सरकारलाई उपलब्ध गराउने निर्णय गरेका छौँ । नेपाल सरकारलाई यसै सन्देश मार्फत आवश्यक परे हाम्रो तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध हुने समेत जानकारी गराउन चाहन्छौँ ।”

उनले सरकारलाई भौतिक सहयोग गर्ने निर्णय एसोसिएसनको अनलाइन बैठकले गरेको समेत उल्लेख गरेका छन् । आफूहरूको निर्णय बारे स्पष्ट पार्दै पाठकले भने, ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले सरकारलाई सहयोग गर्ने समय भएकोले कर्तब्यबोध गर्दै यो निर्णय गरिएको हो ।’

एसोसिएसनका केन्द्रीय सल्लाहकार दीपक बरालले सरकारलाई आवश्यक परेको खण्डमा तीन सय भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न सक्ने गरिको संरचना उपलब्ध गराउन आफू स्वयम् समेत तयार रहेको जानकारी दिए । उनले यो विषम परिस्थितिमा होस्टल व्यवसायीहरूले थोरै सहयोग गर्दा समेत त्यसले राज्यलाई महत्त्वपूर्ण सहयोग पुग्ने ठहर गरी यस्तो निर्णय गरेको बताए ।

नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पतालका सञ्चालक समेत रहेका बरालले भने, “ होस्टलको संरचना क्वारेन्टाइनका लागी उपयुक्त हुन्छ । त्यसैले ब्यवाश्थापनमा पनि सहज हुन्छ भन्ने सोचेरै हामीले सरकारलाई सहयोग गर्ने सोच बनाएका हौँ ।”
नेपालभर १२ सय भन्दा बढी होस्टल रहेका छन् । एसोसिएसनले काठमाडौँ उपत्यकाका अलावा मोरङ, चितवन, रुपन्देही र काभ्रे जिल्लामा आवश्यक पर्ने क्वारेन्टाइनका लागी बेड र भवन उपलब्ध गराउने भएको हो ।

एसोसिएसन जिल्ला समन्वय समितिका संयोजक सुनिल भेटवालका अनुसार एसोसिएसन अहिले नै एक हजार बेड उपलब्ध गराउन सक्षम छ । उनले भने, “यदि आवश्यक र्पयो भने थप सहयोग गर्न सक्छौँ ।” उनका अनुसार उप(प्रधानमन्त्री ईश्वर पोख्रेललाई समेत यस्तो सहयोगको तत्परताबारे जानकारी गराइसकिएको छ ।

प्रकाशित मिति:April 13, 2020