इन्जिनियरको वृद्धि विकास रोक्ने षडयन्त्र

  Sampatti News

June 2, 2022

काठमाडौँ – भौतिक तथा पूर्वाधार मन्त्रालयका इन्जिनियरको वृद्धि विकास रोक्ने षडयन्त्र भएकाे छ । मन्त्रालयका कर्मचारीले खारेजीमा परेको स्थानीय पूर्वाधार विभागका कर्मचारीहरूलाई आफ्नो मन्त्रालयमा समायोजन नगर्न भन्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

आगामी बजेटमा इन्जिनियरको वृद्धि विकास रोक्ने र संरक्षण गर्नुपर्नेमा राजनीतिक नेतृत्वले टुक्रे योजनामा सम्मिलित भई राजमार्गहरुको कार्य जिम्मेवारीमा असर गरेको देखिन्छ ।

सरकारले विभाग खारेज गर्दै त्यहाँ रहेका रहेका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाईमा रहने तथा बाँकी कर्मचारी प्रदेश सरकार र भौतिक पूर्वाधार सम्बद्ध सङ्घीय मन्त्रालयमा समायोजन हुने भनेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारी युनियनहरूले संयुक्त रूपमा मन्त्री रेणुकुमारी यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट वक्तव्यमार्फत आएको उक्त व्यवस्था कार्यान्वयन नगर्न माग गरेका छन् ।

मन्त्रालयको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले विभागबाट कार्यान्वयन भइरहेका करिब ६०० वटा नयाँ सडक योजना र करिब १०० वटा पुल निर्माण सम्बन्धी टुक्रे योजना सङ्घीय कार्यक्रमहरूबाट हटाई सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्नसमेत भनेका छन् ।

‘मूल दायित्व राष्ट्रिय राजमार्गको निर्माण मर्मत सम्भार तथा संरक्षण गर्ने रहेकोमा राजनीतिक नेतृत्वले टुक्रे योजनामा सम्मिलित भई राजमार्गहरूको कार्य जिम्मेवारीमा असर गरेको देखिन्छ,’ पत्रमा भनिएको छ,’आव २०७९-०८० को लागि पेस भएको बजेटमा सो स्थानीय स्तरका कार्यक्रमहरू हटाई संविधानसम्मत कार्यक्रमहरू मात्र समावेश गर्नुपर्छ, यस्ता कार्यक्रमहरू संशोधन गरी आगामी आ व मा सङ्घीय कार्यक्रमहरूबाट हटाई सम्बन्धित निकायमार्फत कार्यान्वयन हुनुपर्छ ।’

प्रकाशित मिति:June 2, 2022