यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, पाँच जनाको सनाखत

  Sampatti News

June 5, 2022

रुपन्देही । भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस पुलबाट खोलामा खसेको हो ।

आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार नौ जना मृत्यु भएको र २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।

चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको प्रहरीको अनुमान छ । घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले जानकारी दिनुभयो ।

रोहिणी पुलबाट पटक–पटक सवारीहरु खोलामा खस्ने गरेका छन् । तीनवटा जेसीभीको प्रयोग गरेर दुर्घटनामा परेको बसलाई सुल्टो बनाएर यात्रुको उद्धार गरिएको केसीको भनाइ छ ।

भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । रुपन्देही डिएपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति:June 5, 2022