काेराेना संक्रमित अर्को व्यक्तिको रिपोर्ट नेगेटिभ: याे सहित नेपालमा काेराेना जित्ने ४ जना

  Sampatti News

April 19, 2020


काठमाडौँ । आज लम्की चुहाका काेराेना संक्रमित निकाे भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमित लम्की चुहाका २१ वर्षीय युवा निको भएपछि घर फर्किने भएका छन् ।

उनलाई आज डिस्चार्ज गर्ने तयारी भइरहेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदीश जोशीका अनुसार पहिलो रिपोर्ट चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको छ।

त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखियाे ।
‘उहाँको दुईपटक नै कोरोना नेगेटिभ आयो,’ उनले भने ‘२४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि आजै डिस्चार्ज गर्ने तयारीमा छौँ,’ घर फर्किएपछि पनि एक हप्ता सामाजिक दुरी कायम गर्न आग्रह गरिएको उनले बताए ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गतेदेखि बसेका थिए ।

११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी आइतबार नै घर फर्किने अस्पताल स्रोतले बताएको छ ।

नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म तीन जना उपचारबाट निको भई घर फर्किएका छन् । अब उनी पनि घरजाने तयारीमा रहेका छन् ।

प्रकाशित मिति:April 19, 2020