नेकपा एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिए (पत्रसहित)

  Sampatti News Online

June 24, 2022

काठमाडौं । एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका उनीहरुले बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल पुनर्गठन गर्न खोज्नुलाई स्वाभाविक मान्न नसकिने बताएका छन् ।

बिहीबार बुझाइएको ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ छिन् । यस्तै कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, धनबहादुर बुढा र निरा जैरु छन् ।

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी, विरोध, प्रेम र कृष्णकुमार) लाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो । कुँवर गैरसांसद हुन् । बजेटमाथि छलफल भइरहेको भन्दै प्रधानमन्त्री देउवाले तत्काल मन्त्री हेरफेर गरेनन् ।

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउँदा राज्यमन्त्री खापुङलाई मन्त्री बनाउने सिफारिस गरेको छ । गैरसांसद कुँवरलाई पर्यटनमन्त्री सिफारिस गरिएको छ भने दाङबाट मेटमणि चौधरी मन्त्री र हिरा केसी राज्यमन्त्री सिफारिस भएका छन् । नयाँ टिममा महिला र कर्णालीको पनि प्रतिनिधित्व छैन ।

१० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन तथा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलन र समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझाउने मध्येका एक सांसद गोपाल बम भन्छन्, ‘आज पोलिटब्यूरोको बैठक छ, भोलि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यहाँ छलफल होस्, मन्त्री हेरफेरको निर्णयमा भएका कमीकमजोरीबारे नेतृत्वको ध्यान पुगोस् भनेर हामीले ध्यानाकर्षण्मा गराएका हौं ।’

प्रकाशित मिति:June 24, 2022