कम्युनिस्ट पार्टी कहिल्यै विदेशीसामु लम्पसार पर्दैन : अध्यक्ष नेपाल

  Sampatti News Online

June 24, 2022

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन् ।

कम्युनिस्ट पार्टी कहिल्यै विदेशीको इसारामा चल्न नसक्ने पनि उनको भनाइ थियो । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताए ।

अध्यक्ष नेपालले भने -‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ । आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ । कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिन्छ । विदेशीहरुको सामु लम्पसार पर्दैन । विदेशीहरुका सामु घुँडा टेक्दैन । विदेशीका इसारामा नाच्दैन । विदेशीहरुको स्वादमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राख्छ । फलस्वरूप जनताको विश्वास हामी जित्न सक्छौँ ।’

अध्यक्ष नेपालले पार्टीको पोलिटब्युरो बैठकमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस हुने पनि बताए ।

कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्बन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको पनि नेपालको भनाइ थियो ।

परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसकेमात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति:June 24, 2022