राजस्व चुहावटको आरोपमा प्रशासकीय अधिकृत शिवराज सेढाइसहित दुईजना विरुद्ध मुद्दा दायर

  Sampatti News Online

June 24, 2022

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइसहित दुई जना विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

सेढाइले उपमहानगरपालिकाका कर्मचारीहरूको समेत संलग्नतामा अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी हेटौंडाको न्यू पाथिभरा सप्लायर्सको मिलेमतोमा अनियमितता भएको पाईएको आयोगको भनाई छ ।

आयोगका अनुसार न्यू पाथिभरा सप्लायर्ससँग सम्झौता पत्रमा उल्लेख भएबमोजिमको सर्तहरू पूरा नगर्दा पनि नियमित रूपमा गिट्टी बालुवा उत्खनन, बिक्री वितरण कार्य गर्न दिइएको पाईएको छ । सम्झौता गर्दाको बखत दुई किस्तावापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा सो नलिई सम्झौता गरेको पाईएको छ । साथै आर्थिक वर्ष २०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अंकमध्ये हालसम्म दाखिला गर्न बाँकी रकम एक करोड २० लाख २८ हजार ९० रुपैयाँ नगरपालिकाको राजस्व रकम चुहावट भएको आयोगले जनाएको छ ।

सेढाईलाई बिगो एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ माग दाबी कैद सजाय गर्न माग गरिएको छ । साथै न्यू पाथिभरा सप्लायर्सले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको रकम एक करोड २० लाख २८ हजार ९० रुपैयाँ र ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार ५१० रुपैयाँ दाखिला गरेको नदेखिएकोले हो । सो रकमसमेत गरी एक करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ सार्वजनिक निकायलाई हानिनोक्सानी गरेकोले न्यू पाथिभरा सप्लायर्सको प्रोपाइटर मिराकुमारी श्रेष्ठ विरुद्ध उक्त बिगो सोही दफा बमोजिम जफत हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित मिति:June 24, 2022