सेवा आयोगको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचिसहित)

  Sampatti News Online

June 29, 2022

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कर्मचारी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रकाशित नतिजा अनुसार अधिकांश पदमा कुनै पनि परीक्षार्थी उत्तीर्ण नभएको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरू सबैजसो फेल भएका छन् ।
उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत पदमा लिइएको लिखित परीक्षामा एक हजार चार सय ६३ जना सहभागी थिए । तर मुख्य कार्यालय सहायक पदमा एक जना मात्रै अन्तर्वार्ताका लागि छनौट भएका छन् ।

२०७८ मंसिर ५, ६ र ७ गते सञ्चालित उपप्रशासक पदमा १२ जनाले लिखित परीक्षा दिएका थिए ।

खुलातर्फ २, महिलातर्फ १ र आदिवासी जनजातितर्फ १ गरी जम्मा ४ जनाका लागि उक्त परीक्षा लिइएको थियो । तर कोही पनि लिखित परीक्षामा उत्तीर्ण भएनन् ।

यस्तै शाखा अधिकृत पदका लागि २०७८ कात्तिक २८, २९ र ३० गते परीक्षा लिइएको थियो ।

खुलातर्फ २२, महिलातर्फ ६, आदिवासी जनजातितर्फ ५, मधेशीतर्फ ४, दलिततर्फ एक, अपाङ्गतर्फ १ र पिछडिएको क्षेत्रतर्फ १ गरी ४० जनाका लागि लिइएको परीक्षामा ५४२ जनाले लिखित परीक्षा दिएका थिए। यीमध्ये कसैले पनि लिखित परीक्षा उत्तीर्ण गर्न सकेनन् ।

साथै २०७७ माघ २५, २६ र २७ गते भएको आर्थिक उपनियन्त्रकको परीक्षामा पनि कोही पनि पास भएनन् । दुई जना माग भएकोमा तीन जनाले लिखित परीक्षा दिएका थिए । कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन् ।

२०८७ मंसिर ५,६ ७ गते भएको लेखा अधिकृतको परीक्षामा १२९ जनाले परीक्षा दिएका थिए । १५ जना माग भएकोमा कसैले पनि लिखित परीक्षा उत्तीर्ण गर्न सकेनन् ।

यस्तै २०७८ मंसिर १ र २ गते मुख्य कार्यालय सहायकका लागि लिइएको परीक्षामा एक जना उत्तीर्ण भएका छन् । ४३ जना माग भएको थियो । लिखित परीक्षामा खुलातर्फ १ जना अन्तर्वार्ताका लागि छनौट भए भने अरूले नाम निकालेनन् । यो परीक्षामा ७७७ जना सहभागी थिए ।

यस्तै कार्यालय सहायकका लागि ५१ जना माग गरिएकोमा ६७२ जनाले लिखित परीक्षा दिएका थिए । यीमध्ये ८७ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।

https://drive.google.com/file/d/1blVdKgErc0RmqfEF6sXoRtlmFQxDECJI/preview

प्रकाशित मिति:June 29, 2022