एमालेमा हामीले बीउ रोपेर आएका छौँ,केही समयपछि फल्छ : प्रचण्ड

Nepal Cover
१५ असार २०७९, बुधबार
image

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने बताएका छन् ।

‘३ वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ,’ प्रचण्डले भने ।

बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादीहरू एक हुनुपर्छ भन्नेमा जनताको तहबाट दबाब आएको चर्चा गरे ।
विगतमा एउटै पार्टी हुँदा एमाले पृष्ठभूमिका कतिपय साथीमा अग्रगमन, जनताको अधिकारको रक्षा लगायतका विषयमा वैचारिक रुपमा सचेत र जागरुक तुल्याएको उनले जिकिर गरे ।

माओवादी मात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उनले सबै सच्चा कम्युनिस्टलाई एकीकृत र केन्द्रीकृत गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘जनताको आवाजलाई नसुनेजस्तो गर्नु हुँदैन ।’ बिना आग्रह, बिना पूर्वाग्रह सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले भने, ‘एक ठाउँमा सबै उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन ।’