विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने सरकारकाे निर्णय, कुनमा कति ?

  Sampatti News Online

July 1, 2022

काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा गर्ने गरेको छ । त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषणद्वारा सरकारले सम्मान गर्ने गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित विभूषण (पहिलो संशोधन) नियमावली २०७७ अनुसार सरकारले हरेक वर्ष १ सय मानपदवी, ५० अलंकार र ५० पदक वितरण गर्दै आएको छ । यस्तै नेपाल रत्न एक र २ वटा राष्ट्र गौरव पदक वितरण गर्दै आएको छ ।

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणम घटाएको भएता पनि हिरा र चाँदीको मुल्य भने जस्ताको तस्तै राखेको छ ।
सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई १० किसिमका विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी सुन प्रयोग हुने नेपाल रत्न पदकबाट ८५ ग्राम सुन घटाएर अब ९० ग्राम मात्रै राख्ने निर्णय गरिएको छ । यो पदमा ४२५ ग्राम चाँदी र ४२ ग्राम हिरा पनि प्रयोग हुन्छ ।
राष्ट्र गौरव पदकमा ४५ ग्राम सुन प्रयोग हुने गरेकोमा अब ३० ग्राम मात्र प्रयोग गरिने छ ।

राष्ट्रदिपतर्फ

महाउज्वल राष्ट्रदीप प्रथम श्रेणीमा १३० ग्राम सुन प्रयोग हुनेमा अब ८५ ग्राम मात्रै प्रयोग हुने भएको छ । यो पदकमा १०० ग्राम चाँदी पनि प्रयोग हुने गर्छ ।

उज्वल कीर्तिमय राष्ट्रदीप द्वितीयमा ९० ग्राम सुन प्रयोग हुने गरेकामा अब ६० ग्राम मात्रै प्रयोग हुने भएको छ ।

सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ४५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ३० ग्राम मात्रै प्रयोग हुने भएको छ ।

कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा ३५ ग्राम सुन प्रयोग हुने गरेकामा अब २० ग्राम मात्रै प्रयोग हुने भएको छ । यसमा १५० ग्राम चाँदी पनि प्रयोग हुन्छ ।

राष्ट्रदीप पञ्चम श्रेणीमा ६ ग्राम सुन प्रयोग हुँदै आएको थियो । यसलाई यथावत् राखिएको छ ।

जनसेवाश्रीतर्फ

सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीतर्फ १२० ग्राम सुन प्रयोग हुँदै आएकोमा अब ८४ ग्राम सुन मात्रै राखिने छ । यसमा १०० ग्राम चाँदी पनि प्रयोग हुन्छ ।

प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीतर्फ ८५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ५९ ग्राम मात्रै प्रयोग हुने छ । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ३५ ग्राम सुन प्रयोग भएकामा अब २५ ग्राम प्रयोग हुने भएको छ ।

प्रकाशित मिति:July 1, 2022