सरकारले क्षयरोग अन्त्यको लागि राष्ट्रिय योजना सार्वजनिक

  Sampatti News Online

July 13, 2022


काठमाडौं । सरकारले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना ल्याउनु भएको छ। मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो। उक्त रणनीतिमा आर्थिक वर्ष २०७/८७९ देखि २०८२/८३ सम्मको दीर्घकालीन सोच, लक्ष्य र उदेश्य तयार पारेका छन्।
आर्थिक वर्ष २०७७/७८ मा प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग दर २३८ भएकोमा आर्थिक वर्ष २०८२/८३ को अन्त्य सम्ममा प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग दर १८१ प्रतिलाखमा झार्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा निर्देशक डाक्टर संजय कुमार ठाकुर सम्बोधन गर्दै

केन्द्रको तथ्यांकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालमा २८ हजार ६७७ क्षयरोगका बिरामीहरु राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता भएका थिए। नेपालमा मृत्युको मुख्य कारणहरुमध्ये क्षयरोग दशौं नम्बरमा पर्ने केन्द्रका निर्देशक डा। सञ्जय कुमार ठाकुरको भनाइ छ।

उनका अनुसार नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामीहरु थपिने अनुमान गरिएको छ। नेपालमा ४१ हजार ५०० बिरामीहरु अझै सम्पर्क बाहिर रहेको उनले जानकारी दिए। नेपालमा प्रत्येक वर्ष १६ हजार बिरामीहरुको क्षयरोगको कारणबाट मृत्यु भएको अनुमान गरिएको छ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा प्रतिलाख जनसंख्यामा मृत्युदर ५८ रहेकोमा यसलाई आर्थिक वर्ष २०८२/८३ को अन्त्य सम्ममा प्रतिलाख जनसंख्यामा २३ मा झार्ने लक्ष्य लिइएको छ।

यस्तै आर्थिक वर्ष २०९१/९२ सम्ममा क्षयरोगको अन्त्य गरी आर्थिक वर्ष २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ। यसैगरी क्षयरोगको कारणले परिवारमा पर्ने आर्थिक व्ययभार शून्यमा झार्ने लक्ष्य लिइएको छ।

क्षयरोग अन्त्यका लागि क्षयरोग कार्यक्रममा स्वास्थ्य प्रणालीको थप सुदृढीकरण गर्दै स्वास्थ्यमा सर्वव्यापी पहुँचमा वृद्धि गरी गुणस्तरीय क्षयरोग सेवा प्रदान गर्ने, क्षयरोगमुक्त नेपाल अभियानमा समुदायको संलग्नता र स्वामित्वमा सुदृढीकरण गरिने, क्षयरोग कार्यक्रमको अनुगमन प्रणालीलाई सुदृणीकरण गरिने, प्राकृतिक तथा अन्य विपदको समयमा क्षयरोग कार्यक्रमको निरन्तरताका लागि योजनाको विकास गरी एकीकृत स्वास्थ्य प्रणालीमार्फत कार्यान्वयन भएको सुनिश्चितता गरिने, क्षयरोग प्रयोगशाला सेवाको सुदृढीकरण गरिने बताइएको छ।

यस्तै डिएस र डिआर टिबीको बिरामी पत्ता लगाउने दरमा वृद्धि गरिने, क्षयरोग बिरामीको उपचार सफलता दरमा वृद्धि गरिने, क्षयरोग रोकथाम थेरापीको सेवालाई विस्तार गरिने रणनीति बनाइएको छ।

उक्त रणनीतिमा क्षयरोग कार्यक्रमका लागि संघ, प्रदेश र स्थानीय तहको भूमिका पनि तय गरिएको छ। उक्त रणनीति कार्यान्वयनका लागि केन्द्रमा हाल रहेको जनशिक्तमा २२ जना थप गरी ५५ जना पुर्याउनुपर्ने समेत जनाएको छ।

केन्द्रले आगामी आर्थिक वर्षमा क्षयरोग मुक्त नेपाल घोषणा अथियान कार्यक्रमको विस्तार गर्ने र आगामी ४ वर्षमा क्रमशस् ७५३ वटै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। यस्तै, क्षयरोग सेवामा बहुक्षेत्रीय अवधारणालाई लागू गर्ने र क्षयरोगको विभिन्न कोमोर्विड अवस्थामा हुने क्षयरोगको उच्च जोखिमलाई सम्बोधन गरिने र क्षयरोग सेवाको प्रभावकारी रुपमा व्यवस्थापन गर्न निजी तथा गैरसरकारी क्षेत्रको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गरिने रणनीति तयार पारिएको छ।

केन्द्रले क्षयरोगका थप बिरामी पत्ता लगाउन २०७८ फागुन देखि २०७९ असार सम्ममा विशेष कार्यक्रम गरेको थियो। सो क्रममा क्षयरोग निदानका लागि विग्रिएर बसेका खकार जाँच्ने १०२ जिन एक्सपर्ट मेसिनमध्ये ९२ वटा मोड्युलहरु रिप्लेस गरी मेसिन सञ्चालनमा ल्याइएकोे छ।

प्रकाशित मिति:July 13, 2022