July 18, 2022
काठमाडौँ । फोहोर वर्गीकरण सम्बन्धी काठमाडौँ महानगरपालिका वातावरण तथा कृषि विभागले जारी गरेको सूचनामा भनिएका छन् , ‘स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने ब्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
महानगरपालिकाको अनुसार सुरुमै फोहोर वर्गीकरण नगरी फोहोर फालेमा प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गर्ने सूचना जारी गरेपछि उक्त जरिवाना कसबाट असुल गर्ने हो भने यति बेला चासोको विषय बनेको हो । जरिवाना घरबेटीबाट असुल गर्ने हो कि भाडामा बस्ने डेरावालबाट असुल गर्ने हो कि यसमा धेरैको चासो छ ।
महानगरमा अधिकांश भाडामा बस्ने छन् । कतिपय घरमा घरबेटी नै छैनन् । अझै फोहोर व्यवस्थापनको कुरा गर्ने हो भने यहाँ अधिकांशले फोहोरको गाडीमा भन्दा घरको गेटमा र चोकमा फोहोरका पोका फाल्ने गर्दछन् । यसरी फोहोर फाल्नेमा घरबेटीदेखि डेरावालसम्म छन् ।
त्यसो त महानगरपालिकाले भान्छाबाटै फोहोर वर्गीकरण गर्न धेरै एक महिना अघिदेखि नै अनुरोध गर्दै आएको छ । सोही अनुरोध अनुसार महानगरपालिकाले साउन १ गतेदेखि फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न थालेको हो । तर, घरका गेट र चोकमा अलग अलग नगरेकै फोहोरका पोका देखिन्छ । यसरी फालिएका फोहोरका पोकाको जिम्मेवारी कसले लिने र कसलाई जरिवाना गर्ने भन्ने विषय अन्योलमा छ ।
महानगरपालिकाका अधिकारी भन्छन् ‘हामीले कसको घरमा को भाडामा बस्छ र कति भाडामा बस्छन्रु चिन्दैनौँ । महानगरले चिन्ने भनेको घरबेटीलाई हो । त्यसैले घरबेटीले सबै भाडामा बस्नेलाइै फोहोर वर्गीकरणबारे जानकारी र सचेत बनाउनु पर्छ ।’ उनको भनाइ अनुसार फोहोर वर्गीकरण भएन भने जरिवाना घरबेटीले तिर्नुपर्छ । तर, काठकाडौंमा घरबेटीबाट भन्दा डेरावालबाट बढी फोहोर उत्पादन हुने गरेको छ । अर्कोतर्फ रातको समयमा चोकमा फोहोर फाल्नेलाई पहिचान गरेर जरिवाना गर्न पनि चुनौती छ ।
घरबेटी हुन् वा भाडामा बस्ने जो कहिले पनि आफ्नो घरको गेटमा फोहोर थुर्पान दिन नहुने महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले बताए । काठमाडौँको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि महानगरपालिकाले वर्गीकरण गरेर मात्र फोहोर व्यवस्थापन गर्न थालेको हो । महानगरपालिकाले कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधवार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रवारलाई तोकेको छ ।
प्रकाशित मिति:July 18, 2022
November 24, 2024