July 20, 2022
काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यत: इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन सकाएपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिनको लागी परीक्षा पास गर्नुपर्ने प्रावधान छ ।
विधेयकअनुसार डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरूले पनी लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै सरकारबाट इन्जिनियरको दर्जा पाउनेछन् । यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिनेछ ।
२९ जेठ २०७६ मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट १४ पुस २०७६ मा पारित भएर प्रतिनिधिसभामा आएको थियो । राष्ट्रिय सभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले पनि पारित गरेको हो ।
सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले लाइसेन्स लिन परीक्षा अनिवार्य गरिएपछि गुणस्तरीयतालाई जोडेर आउने गरेका प्रश्नहरूको निरुपण भएर जाने सरकारको अपेक्षा रहेको बताए ।
साथसाथै, सातै प्रदेशमा शाखा कार्यालयहरु खोल्न पाउने अनलाइन मार्फत सेवा प्रदान गर्न सक्ने लगायतका व्यवस्था विधेयकमा रहेको उनले जानकारी दिए ।
प्रतिनिधिसभाबाट पारित यो विधेयक फेरि राष्ट्रिय सभामा जान्छ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुग्छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने व्यवस्था सहितको यो विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउँनेछ ।
प्रकाशित मिति:July 20, 2022
November 23, 2024