मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा

  Sampatti News Online

July 24, 2022

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। डब्लुएचओको यो घोषणासँगै अब मंकिपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ।

द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्।

केही विज्ञहरूले भने डब्लुएचओले हतारमा मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको भनेर आलोचना गरेका हुन्।

मंकिपक्सको संक्रमण अहिलेसम्म संसारभरिका ७५ मुलुकमा पुगेको छ। १६ हजार बढी मानिसमा यसको संक्रमण देखिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

केही साताअघि नेपालमा पनि एक जनामा मंकिपक्सको संक्रमण भएको आशंका गरिएको थियो। परीक्षण गर्दा उनमा कुष्ठरोग भएको पुष्टी भएको थियो।

सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो।

त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला-बेलामा देखिने गरेको थियो।

यसअघि पनि ती मुलुकमा गएका बाहिरका मानिसलाई पनि बेला-बेला यो भाइरसको संक्रमण हुन्थ्यो। अहिलेजति एकै पटक यति धेरै मुलुकमा यो भाइरस यसअघि कहिल्यै फेला परेको थिएन। बेलायत र अमेरिकाका संक्रमितहरू मध्य तथा पश्चिम अफ्रिकाका ती मुलुकमा नगए पनि उनीहरूमा संक्रमण देखिएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन्। शरीरका विभिन्न भागमा बिबिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका हुँदैनन्।

संक्रमितलाई निको हुन ६ देखि १३ दिनसम्म लाग्छ। कसैलाई निको हुने २१ दिनसम्म लाग्न सक्छ।

मंकिपक्सको छुट्टै उपचार छैन। चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन्। संक्रमितहरूलाई डाक्टरले अवस्था हेरेर उपचार सिफारिस गर्छन्। बच्चा र गर्भवती महिलालाई संक्रमण भए अरूभन्दा बढी गाह्रो हुन सक्छ।

मंकिपक्सको मृत्युदर न्यून छ। नाइजेरियामा अहिलेसम्मको तथ्यांकमा संक्रमितमध्ये ३.३ प्रतिशतले ज्यान गुमाएका छन्।

मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ। अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ।

प्रकाशित मिति:July 24, 2022