प्रभावशाली नेताहरूसँग देउवाले छलफल

  Sampatti News Online

August 8, 2022


मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सिट बाँडफाँटबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र परामर्श लिन थालेका छन् । पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली नेताहरूसँग देउवाले छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजेदेखि छलफल चलिरहेको छ । मंसिर ४ को चुनावमा गठबन्धनबीच तालमेल गर्नेबारे गत शुक्रवार औपचारिक सहमति भएको थियो ।
पेचिलो मानिएको सिट बाँडफाँटबारे देउवाले पार्टीमा छलफल गरेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रामचन्द्र पौडेल, शेखर कोइरालालगायत बैठकमा सहभागी छन् ।

कोभिड संक्रमणका कारण उपसभापति पूर्णबहादुर खड्का सहभागी छैनन भने, अष्ट्रेलिया भ्रमणमा गएका अर्का उपसभापति धनराज गुरुङ पनि बैठकमा सहभागी छैनन् । सिट बाँडफाँटमा सहमति जुटाउन बनेको कार्यदलको बैठकअघि देउवाले पार्टीमा छलफल गरेका हुन् ।
कार्यदलको बैठक सोमवार ३ बजे बस्दैछ ।

नेकपा माओवादीलगायत गठबन्धनका दलले प्रतिनिधि सभाका ५० प्रतिशत सिटमा दाबी पेश गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकले भने बहुमत आफूसँग रहने गरी चुनावी तालमेलको निर्णय गरेको थियो ।

प्रकाशित मिति:August 8, 2022