आज मेघ गर्जनसहित वर्षा हुने

Nepal Cover
२६ श्रावण २०७९, बिहीबार
image

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावनासमेत छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली  तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएका छन् । 

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा र बाँकी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।