काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर आफु र महेन्द्र राय यादवको अध्यक्षतामा नेकपा समाजवादी पार्टी (नेसपा) गठन गरेका डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाएर आगामी चुनावमा एउटै चुनाव चिन्हबाट चुनाव लड्ने प्रस्ताव राखेको छ ।
विहीबार ललितपुरको हात्तिबनमा रहेको एक हाउजिङमा बस्दै आएका प्रचण्डका भान्जा गोकुल भण्डारीको निवासमा डा बाबुरामले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।
भेटमा भट्टराईले मोर्चाका विषयमा छलफल गरेका छन् । ‘मोर्चा बनाए र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष र वरिष्ठ उपाध्यक्षसँगको भेटमा राखेका छौं,’ बाबुराम निकट स्रोतले बताएका थिए ।
बाबुरामको प्रस्तावमा प्रचण्डले सल्लाह गरौला भन्ने जवाफ फर्काएको छ।
प्रचण्ड समाजवादी केन्द्र निर्माणको पक्षमा छन् । तर त्यस्तो समाजवादी केन्द्र निर्माणमा नेकपा राख्न बाबुराम आफै असहमत थिए । तर उनले आज भने एउटै मोर्चा बनाएर चुनाव पनि एउटै चिन्हमा मिलेर लड्ने प्रस्ताव गरेका हुन् ।भट्टराईले अर्का अध्यक्ष महेन्द्र राय यादवलाई लिएर दुई दिन अगाडी मात्रै प्रधानमन्त्री शेरबहादुर देउवासंंग भेट गरेका थिए ।
प्रचण्ड, नारायणकाजीसँग बाबुरामको भेट हुनु अगाडी खुमलटारमा बामदेव गौतम पनि प्रचण्ड संग भेट गर्न पुगेका थिए । बामदेव, नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्रको जसपा र बाबुरामको पार्टीवीच मोर्चा बनाएर समाजवादी केन्द्र बनाउने प्रयास केही समय देखि जारी थियो । त्यसमा खास प्रगति नभईरहेका बेला विहिवार बाबुरामको यस्तो प्रस्तावले फेरि राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ।