November 21, 2018
सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।
प्रदेश १ को प्रमुख भएका सुब्बा कांग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि कांग्रेसमा प्रवेश गरेका हुन् । उनी सिनासका प्रोफेसर पनि हुन् ।
प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् ।
प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सीएनएन हिरो समेत भएकी कोइराला चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस प्रवेश गरेकी थिइन् ।
प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् ।
प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् भने मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । मल्ल केही समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए । प्रदेश नम्बर ७ मा भने मोहनराज मल्ल प्रमुखमा तोकिएका हुन्।
प्रकाशित मिति:November 21, 2018