June 19, 2020
काठमाडौं । सरकारले सीमानाकामा सशस्त्र प्रहरीको स्थायी बीओपी थपिरहेकाे छ ।
नेपाल सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्याउने गरी धमाधम काम अघि बढाएकाे गृह मन्त्रालय स्राेतले जनाएकाे छ ।
सीमा सुरक्षा व्यवस्थापन गर्न सरकारले ५ सय स्थानमा स्थापना सशस्त्र प्रहरी बलको बीओपीको संख्या थप गर्ने लक्ष्य राखेकाे छ । त्यस्कालागि सरकारले तत्कालका लागि २ सय २१ पुर्याउने गरी काम सुरु गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि १ सय ७ स्थायी बीओपी रहेकामा १ सय १४ थप गरी २ सय २१ पुर्याइने लक्ष्य लिइएको हो । गृहमन्त्री रामबहादुर थापाले बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७७ माथिको छलफलमा उठेका विषयका सम्बन्धमा जवाफ दिने क्रममा स्थायी बीओपी २ सय २१ पुर्याइने गरी काम सुरु भएको जानकारी गराएका हुन्।
गृहमन्त्री थापाका अनुसार बुधबारसम्म दार्चुला जिल्लाको छांगरु र हुम्लाको हिल्सासमेत गरी १ सय २९ स्थानमा स्थायी बीओपी स्थापना भइसकेको हुनेछ ।
सरकारले आगामी आर्थिक वर्षका लागि ६९ वटा बोर्डर आउट पोस्टको भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरेको गृहमन्त्री थापाले भनेका छन्।सरकारले कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि भन्दै भारतीय सीमा क्षेत्रमा हाल १२ सय १३ वटा सशस्त्र प्रहरीका अस्थायी चेक पोस्ट स्थापना गरेको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीतर्फका कुल २२ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ।
पछिल्लाे समय भारतसँग सिमा विवाद चर्किएपछि सरकार सिमा सुरक्षामा अझ सतर्क र चनाखाे भएर लागेकाे गृहमन्त्री थापाकाे भनाई छ ।
प्रकाशित मिति:June 19, 2020
November 23, 2024