रिपोर्ट आउन ढिला भएकाे भन्दै क्वारेन्टाइनमा बसेकाहरु प्रदर्शनमा

Nepal Cover
९ असार २०७७, मंगलवार
image

दाङ । पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् ।

दाङको घोराहीस्थित रझेना माविमा क्वारेन्टाइनमा बसेकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए ।

सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ बुझाइ गरेपछि फर्किएको   जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले बताए ।

उनीहरुले छिटो पीसीआर रिपोर्ट दिन र छिटो आफूहरुलाई घर फर्काउन माग गर्दै नाराबाजी गरेका थिए ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले रिपोर्ट ढिला हुँदा क्वारेन्टिनमा बस्नेहरु आत्तिइसकेको बताए । उनले भने, ‘सँगै क्वारेन्टिनमा बसेका कसैको कोरोना पोजेटिभ रिपोर्ट आएर, १४ दिनसम्म आइसोलेसनमा बसेर घर फर्किइसक्यो तर ऊसँगै क्वारेन्टिनमा बसेको व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नआउँदा हैरान भइसकियो ।’

दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुँदै आएको छ । तर चाप अत्यधिक रहेकाले छिटो परीक्षण हुन सकिरहेको छैन । स्वाबको नमूना परीक्षणको चाप बढेसँगै प्रतिष्ठानले हालै दोस्रो पीसीआर परीक्षण मेसिन जडान गरेको छ ।