सप्तरीमा चट्याङ लाग्दा ४ जनाकाे मृत्यु

Nepal Cover
११ असार २०७७, बिहीबार
image

सप्तरी । सप्तरीमा चट्याङ लागेर चार जनाको जनाको मृत्यु भएको छ। बिहीबार बिहान परेको चट्याङले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको हो।

जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङले ज्यान गएको छ।

महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ। २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले बताए।

डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए।

राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ।

बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन्। उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ।