यहि माघ महिनाको ११ गते देखि सुरु हुन लागेको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’को सम्पूर्ण तयारी पुरा भएको क्यान महासंघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
यसपालीको क्यान इन्फोटेक मेलामा २२२ वटा स्टल हुनेछन्। भृकुटीमण्डप स्थित मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी स्टल रहने र ट्रसमा १४४ वटा स्टल रहनेछ । त्यस्तै अरु खाली ठाउँहरू र फुड स्टलहरूका लागि २४ वटा स्टल रहनेछन्। क्यान इन्फोटेक मेला ६ दिन सम्म चल्ने छ ।
नेपाली उत्पादनलाई प्राथमिकता दिने हिसाबले गर्न लागिएको यसपालीको प्रदर्शनीमा स्वदेशी प्रविधिका लागि छुट्टै स्टल राखिने भएको छ। ४४ वटा स्टल नेपाली सफ्टवेयर कम्पनीका उत्पादन, स्टार्ट अप र स्वदेशी प्रविधिका लागि छुट्टाईएको छ । टिकेट काटेर मात्र मेला अवलोकन गर्न पाइने क्यान इन्फोटेक मेलामा यसपाली सर्वसाधारणहरुलाई १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।यो क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु र सहप्रायोजक मोटोरोला कम्पनी रहेका छन्।