सम्पत्ति शुद्धिकरणको महाप्रवन्धकमा सहसचिव पौडेल

  Sampatti News

July 2, 2020

काठमाडौँ, । सम्पत्ति शुद्धिकरणका महाप्रवन्धकमा उद्योग विभागका सहसचिव शेभाकान्त पौडेललाई बनाउने निर्णय भएको छ । सम्पत्ति शुद्धिकरणको छानविनको दायारमा आएका व्यापारी, उद्योगी तथा कमिशन एजेन्टहरुको ओम्नी ग्रुप र दीपक मलहोत्राको संयोजनमा बसेको बैठकले सहसचिव पौडेललाई महाप्रवन्धक बनाउँने निर्णय गरेको हो । बैठकमा अग्नि खरेलका दाजु भिम खरेल, शिवम् सिमेन्टका रघु मरु, सिभिल ग्रुपका इच्छाबहादुर तामाङ, व्यापारी सुहृद घिमिरे, म्यानपावर व्यवसायी रघु पुरी, कमिशन एजेन्ट दीपक भट्ट लगायतको उपस्थिती रहेको थियो ।

शुद्धिकरण विभागले दर्जनौं उद्योगी व्यापारी तथा कमिसन एजेन्टहरुको सम्पत्ति छानविन गरिरहेको थियो। तीमध्ये धेरैलाई शुद्धिकरणले मुद्दा समेत दायर गरिसकेको थियो।

सिभिल ग्रुपका इच्छाबहादुर र उनकी श्रीमती सिर्जना शाक्यको सम्पत्ति शुद्धिकरण विभागले अवैध भन्दै रोक्का गरेपछि नेकपाभित्र हलचल मच्चिएको थियो।

अग्नि खरेलका दाजु भिम खरेल चाहिँ भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मिनबहादुर गुरुङको तर्फबाट यस्ता बैठकमा सहभागी हुने गरेको बुझिएको छ। उनी भाटभटेनीका वकील हुन्।

शुद्धिकरण विभागले अवैध सम्पत्ति छानविनलाई अगाडि बढाएपछि अर्थमन्त्री युवराज खतिवडाले बाधा दिएका थिए। मन्त्री खतिवडाले बिराटनगरको एक कार्यक्रममा गएर शुद्धिकरण विभागसँग नडराउनु भनी सार्वजनिक भाषण नै दिएका थिए।

त्यसपछि मन्त्री खतिवडाले शुद्धिकरणको दायरामा परेकाहरुको अर्थ मन्त्रालयमा गएको डेलिगेशनलाई शुद्धिकरण विभागका सबैको सरुवा गरिदिन्छु, त्यो ठाउँमा कसलाई ल्याउने तपाईंहरु नै सिफारिस गर्नुस् भनेको स्रोतको दावी छ। त्यसपछि शुद्धिकरणको छानविनको दायरामा परेकाहरुले उद्योग मन्त्रालयका शोभाकान्तलाई शुद्धिकरण विभागको महानिर्देशक बनाउन सिफारिस गरेका छन्।

शोभाकान्तको नाममा मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले सहमति जनाइसकेका छन् । शुद्धिकरण विभागले व्यवसायीहरुको सम्पत्ति छानविन गर्न थालेपछि नेपालको अर्थतन्त्र नै शिथिलतामा गएको मानिन थालेको थियो।

‘नेपालमा अवैध सम्पत्ति नहुने उद्योगी व्यापारी कोही पनि छैनन्, सबैले कर छलेका छन्। ती सबैको सम्पत्ति छानविन गरेर कारवाही गर्न खोज्नु भनेको अर्थतन्त्र तहसनहस पार्नु हो। शुद्धिकरण विभागले अर्थतन्त्र भत्काएर भयावह अवस्था ल्याउने प्रयास गरेको थियो। अब त्यो रोकिन्छ।’ एक व्यापारीले भने ।

शुद्धिकरणले केही दिन अघि योगेन्द्र श्रेष्ठको करिब दुई अर्ब रुपैयाँको अवैध सम्पत्ति भेटिएको भन्दै मुद्दा दायर गरेको छ। यसमा पनि व्यवसायीहरुको विमति रहेको छ । इच्छाबहादुरको सम्पत्ति छानविन गर्दा पत्नी सिर्जनाको नाममा पचासौं करोड रुपैयाँ अवैध सम्पत्ति भेटिएको थियो। इच्छाबहादुर र सिर्जनाको सम्पत्ति छानविन गरेर कारबाही गर्दा सिभिल सहकारी र सिभिल होम्समा गरिएको सर्वसाधारणको लगानी डुब्ने भएकाले व्यवसायीहरुले विरोध गरेको बुझिन्छ।

‘‘नेपालमा अवैध सम्पत्ति छानविन गर्ने बेलै भएको छैन, कर प्रशासनमा कडाई गरेर १० वर्षपछि मात्र छानविन गर्नु उपयुक्त हुने हाम्रो सुझाव छ।’ केही व्यापारीहरुले भने ।
व्यवसायीहरुले रोजेका शोभाकान्त पौडेल मातृका यादव र उद्योगी बिनोद चौधरीका निकट मानिन्छन्। सम्भवत उनैलाई अब सम्पत्ति शुद्धिकरण विभागको जिम्मा दिइने छ।

प्रकाशित मिति:July 2, 2020