संक्रमित सव उठाउन स्थानीयले अवरोध गरेपछि प्रहरीले गर्यो लाठीचार्ज

Nepal Cover
२० असार २०७७, शनिबार
image

काठमाडौँ । गोरखामा कोरोना संक्रमित एक पुरूषको शव व्यवस्थापनमा स्थानीयबासीले अवरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेर नियन्त्रणमा लिएको छ ।


पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरूषको शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएपछि शव अबुवा नजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय जिल्लास्थित सुरक्षा समितिले गरेपछि स्थानीय बासिन्दाले विरोध गरेका हुन्।

‘४०/५० जनाको संख्यामा मानिसहरू आएर अवरोध गर्न खोज्नुभएको हो। हामी उहाँहरूलाई सम्झाउँदैछौँ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका एपसी सुरेन्द्र गुरूङले भने, ‘केहीबेरमा शव व्यवस्थापन गर्छौं।’

नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनका लागि शनिबार दिउँसो सहिद लखन गाउँपालिका—१ को लुदीखोला घाटमा लगेपछि स्थानीयले अवरोध गरेका हुन्। पालुङटार नगरपालिका घर भएका मृतकको शव किन गोरखा नगरपालिका क्षेत्रमा गाड्ने भन्दै उनीहरूले विरोध गरेका हुन्।

शव व्यवस्थापनमा अवरोध गर्नेलाई लक्षित गरेर प्रहरीले सुरुमा चार सेल अश्रुग्यास प्रहार गरेको थियो। तनाव बढ्दै गएपछि अहिले लाठीचार्ज गरेको हो।

असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो।
स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पिपिईलगायत सामग्री लगाएर नेपाली सेनाका चार जनाले शव व्यवस्थापन गर्नेछन्।