महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

Nepal Cover
२५ असार २०७७, बिहीबार
image

ललितपुर । महालक्ष्मी नगरपालिकाले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ। नगरभित्रका केही ठाउँमा कोरोनाको संक्रमण बढेकाले जोखिम नियन्त्रण गर्न यस्तो निर्णय गरेको नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरेको हो ।

नगरपालिकाको निर्देशन अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। महालक्ष्मी नगरपालिका–७ मा कोरोनाको जोखिम बढ्दै गएको छ। ८ र ९ वडामा समेत जोखिम हुन सक्ने भन्दै त्यहाँका सम्पूर्ण उद्योग, व्यवसाय बन्द गरिएको छ।

खाद्यान्न पसल र व्यवसायमा कम्तिमा एक मिटर दूरी कायम गरेर बिहान ७ देखि ९ बजे सञ्चालनको अनुमति दिइएको छ। क्लिनिक र औषधि पसल भने खुला रहने छन्।

सरकारी तथा गैर सरकारी संस्था, बैंकको कारोबारबाट हुने अत्यावश्यक सेवाबाहेक सबै बन्द हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाले स्थानीयलाई अति आवश्यक पर्दा आवश्यक सावधानी अपनाएर घरबाहिर निस्कन सुझाव दिएको छ।