पोखराका विभिन्न स्थानमा गरि पहिरोबाट ४ जनाको मृत्यु, ९ जना घाईते

Nepal Cover
२६ असार २०७७, शुक्रबार
image

पोखरा । पोखराका विभिन्न स्थानमा पहिरोमा परि चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जानकारी दिए।

थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न नसकेको उनले बताए। प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्। उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ।

अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ। स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ।